Ultimate magazine theme for WordPress.

Wabuk – an importance in Khambu Rai rituals

0 742

The importance of Wabuk (Chindo) in the Khambu Rai culture, is described by the research scholar Shri Chandra Hatuwali.

 

किरात राई जातीमा चिण्डो(वाबुक)को सांस्कृतिक महत्व
P.H.D Scholar संस्कृतिविद/मुन्दुमविद:Chandra Hatuwali
(गोरखापत्र अनलाईन कार्तिक २२, २०७७ शनिबार)

संस्कृतिका विविध रूप हुन्छन् । यी कुनै मानिसका क्रियाकलापका रूपमा देखा पर्दछन् त कुनै विषयवस्तुका रूपमा । त्यसैले त संस्कृतिको परिभाषा दिँदै मानवशास्त्री ई.बी.टेलरले आफ्नो चर्चित पुस्तक ‘प्रिमिटिभ कल्चर’ नामक पुस्तकमा, ‘संस्कृति एक जटिल समग्रता हो, जहाँ ज्ञान, विश्वास, कला, नैतिकता, कानुन, परम्परा र बानी जुन मानवले समाजको सदस्यताका कारण प्राप्त गर्दछ’ भनेर उल्लेख गरेको पाइन्छ । यस परिभाषाले संस्कृतिलाई एक बृहत् स्वरूप र क्षेत्र भएको विषयका रूपमा प्रस्ट पारेको छ ।

यस्तै सांस्कृतिक वस्तुमा चिन्डो पनि पर्छ । चिन्डो, किराँत राई जातिको सांस्कृतिक चिनारी दिने एक महìवपूर्ण पवित्र वस्तु हो । यो बिना किराँत राई जातिको संस्कार र संस्कृति विरलै मात्र सम्पन्न हुन्छन् तर सांस्कृतिक रूपमा पवित्र रहेको चिन्डो रोपेर फलाउन हुँदैन भन्ने मान्यता रहिआएको छ । रोपेर फलाए फाप्दैन भन्ने विश्वास रहेको छ । त्यसैले चिन्डो पाखापखेरा, कान्लाकुन्ली र खोल्सी आदिमा आफैँ उम्रेर भेट्टाएसम्म रुख बिरुवामाथि लहरिएर फल्ने गर्छ भने रुख बिरुवा नभेट्टाए जमिनमा भए नि फल्ने गर्छ । यसरी फलेको चिन्डो मङ्सिर÷पुस महिनातिर छिप्पिएपछि टिपेर ल्याई प्रयोगका लागि राखिन्छ ।

चिन्डो, लहरा प्रकारकोे वनस्पतिमध्येमा लौका जातको क्युक्र्यविटासी परिवारमा पर्छ । यसको वैज्ञानिक नाम भने लिजेनारिया सिसेरारिया हो । विशेषतः गर्मी हावापानीमा फल्ने चिन्डो तराईदेखि मध्यपहाडी क्षेत्रसम्म फल्छ । राई जातिमा भएको भाषिक भिन्नताको आधारमा चिन्डोलाई विभिन्न नामले चिनिन्छ । बान्तावा राईले वाबुब, सोलोन्वा, फुब्चित, चाम्लिङले वाबु, दुङमालीले वाभुक, खालिङले क्याफ्याम, थुलुङले बोम, दुमीले खारावा, पुमाले वाबुप, वाम्बुलेले क्राक्रोम, चिपुम र बायुङ राईले पुपुम, साम्पाङ राईले सलवा आदि भन्ने गरिन्छ । प्रयोग भने सबै राईमा एउटै किसिमले हुन्छ ।

यो जातिमा चिन्डोको प्रयोग मुख्यतः दुई रूपमा हुने गरेको छ । पहिलो सामान्य वा व्यावहारिक प्रयोगमा र दोस्रो विशेष सांस्कृतिक अवस्थामा । सामान्य तथा व्यावहारिक प्रयोगका रूपमा गेडागुडी सुरक्षित रूपमा सञ्चित गर्न, पानी जम्मा गर्ने भाँडाको रूपमा, जाँड वा रक्सी बोक्नका लागि गरिन्छ । जहाँ चिन्डो फल्छ, त्यहाँ अन्य जातका मानिसले पनि प्रयोग गरेको पाइन्छ तर विशेष सांस्कृतिक प्रयोग भने किराँत राई जातिले मात्र गर्छन् । जस्तै विवाह र पितृ कार्यमा रक्सी, जाँड र मर्चापानी राख्नका लागि अनिवार्य रूपमा चिन्डो चाहिन्छ । चिन्डो नफल्ने ठाउँ भएमा विकल्पका रूपमा मात्र काठको कठुवा प्रयोग गरिन्छ । विवाहका लागि केटातिरबाट केटी माग्न जाँदा लगिने सगुन रक्सी चिन्डोमा हालेर लगिन्छ । चिन्डो बाहेकका अन्य साधनमा रक्सी लिएर गएमा अपमान गरेको ठानिन्छ र प्रस्ताव अस्वीकार गरिन्छ । यस अर्थमा चिन्डोमा राईको प्रतिष्ठा जोडिएको हुन्छ । यसरी सगुन रक्सी भरिएको चिन्डो केटीको बुवाआमासमक्ष राखेर छोरी माग्न आएको कुरा राखिन्छ । प्रस्ताव स्वीकार गरिएमा चिन्डोको रक्सी बाँडेर खाइन्छ । त्यसपछि विवाहको अन्य रीत सुरु हुन्छ । यस क्रममा विवाहको अन्त्यसम्म रक्सीको सगुन राख्ने भाँडा चिन्डो नै हुन्छ ।

यसैगरी पितृ कार्यमा पितृलाई प्रसादका रूपमा चढाइने मर्चापानी वा शुद्ध जाँड पनि चिन्डोमा नै राखेर चढाइन्छ । यो कार्यमा अहिलेका जति नै राम्रा भाँडा भए पनि प्रयोग गर्न मिल्दैन । चिन्डो बाहेकको अन्य भाँडा पितृले स्वीकार्दैन भन्ने मान्यता छ । यति मात्र होइन, अन्य सांस्कृतिक कार्यमा पनि चिन्डो नै प्रयोग गरिन्छ । यी संस्कारगत कार्यमा चलाइने चिन्डोलाई घरमुली र माङपा बाहेकका परिवारकै अरू सदस्यले पनि छुन मिल्दैन । छोएमा अशुभ हुने भएकोले शीघ्राति शीघ्र पितृहरूसँग बल माग्दै चोख्याउनु पर्छ वा नयाँ चिन्डोले अशुद्ध भएको चिन्डोलाई प्रतिस्थापित गर्नुपर्छ ।

यो जातिमा चिन्डोको प्रयोगमा महिलाको अग्राधिकार रहेको पाइन्छ । चिन्डोलाई प्रयोग गर्नका लागि तयारी गर्नेदेखि प्रीति कार्य तथा पितृ कार्यमा चलाइने चिन्डोमा रक्सी भर्ने काम महिलाले नै गर्छन् । केही अपवादको अवस्थामा मात्र यो काम पुरुषले गर्छन् । पितृ कार्यमा पितृहरूलाई चढाइने मर्चापानी वा जाँड चिन्डोमा भर्ने काम घरमूली महिलाले गर्नुपर्छ । उनले चाहेसम्म घरमूली पुरुष वा परिवारका अन्य महिला कसैले पनि भर्न मिल्दैन तर यो अग्राधिकार पाउनका लागि उनले पनि निश्चित मुन्दुमी मान्यताको पालना गर्नुपर्छ । यस्ता मान्यता तथा परम्परागत नियममा बिहे अगाडि राई बाहेकका अन्य जातको परपुरुषसँग लसपस भएको हुनु हँदैन । बिहे भइसकेपछि भने लोग्ने बाहेकका अरूसँग लसपस गरेको हुनु हुँदैन । राई बाहेकका अन्य जातको घरमूली महिला भएमा त चिन्डो नै छुन मिल्दैन । यस्तो अवस्थाको घरमूली महिलाले चिन्डो भरेमा पितृहरूले सहँदैनन् र चिन्डो भर्ने स्वयं तथा परिवारका सदस्यहरू अस्वस्थ र अशुभ हुने विश्वास छ । मूली महिलाले चाहेमा घरको कुनै स्वजातीय बुहारीलाई जिम्मा दिन पनि मिल्छ । बुहारीले सासूआमाबाट चिन्डो भर्ने जिम्मा पाएमा सासूआमाको शिर, प्रतिष्ठा उभ्याउने मुन्दुमी रीत गर्नुपर्दछ । यो रीत गर्दा सासूआमालाई एक चिन्डो जाँड वा रक्सी राखेर ‘हजुरको शिर, प्रतिष्ठा नढलोस्, दिएको जिम्मेवारी विश्वासका साथ निर्वाह गर्नेछु भन्दै ढोग्नु पर्छ । यसपछि बल्ल बुहारीले चिन्डोमा मर्चापानी भर्ने अधिकार प्राप्त गर्दछिन् ।

घरमूली पुरुषले भने घरको मूली महिलाको मृत्यु भएको, पोइल गएको, अन्य जातिको महिलासँग बिहे भएको, घरमा बुहारी पनि नभएको अवस्थामा मात्र चिन्डोमा मर्चापानी भर्न पाउँछन् तर महिला घरमूलीले स्वेच्छाले छाडेको पनि छैन र उनले सत्य पनि डगाएकी छैनन् भने यो अधिकारबाट पुरुष घरमूलीले जबरजस्ती वञ्चित गरेर आफैँले चिन्डो भर्न सक्दैनन् । वञ्चित गरे समाज गुहारेर मूली महिलाले उजुरी गरी आफ्नो अधिकार पुनः स्थापित गर्न सक्दछिन् । त्यति मात्र होइन मुन्दुमी विधिविधान गरेर मूली महिलाको शिर वा प्रतिष्ठा पनि उठाइदिनु पर्दछ वा शुद्ध गरिदिनु पर्दछ ।

राई जातिमा चिन्डोमा मर्चापानी वा जाँड, रक्सी भर्न पाउने संस्कृति महिला अग्राधिकारको एक सशक्त दृष्टान्त हो । यो अग्राधिकार सुप्तुलुङ अर्थात् चुलामा पितृहरू पुज्ने परम्परा रहेसम्म नै चल्ने अनुमान गर्न सकिन्छ । यसबाहेक केही समय अघिसम्म यो जातिमा बच्चाको नाम राख्न पाउने अग्राधिकारसमेत महिलामा नै थियो । तर नाम राख्ने अग्राधिकार भने बिस्तारै परिवर्तन हुँदै गएको पाइन्छ । प्रायः अहिले बच्चाको नाम राख्ने काम बच्चाको बुबातिर सर्दै गएको देखिन्छ । राई समुदायको संस्कार र संस्कृति तथा मुन्दुममा भएका महिला अग्राधिकारका विषयबारे गहन अध्ययन हुन बाँकी छ । यस्ता सांस्कृतिक अग्राधिकारले महिलाको पारिवारिक तथा सामाजिक अवस्था, स्थान र निर्णय गर्ने क्षमता बढ्छ नै ।

Leave A Reply

Your email address will not be published.